काठमाडौं । सरकारी कार्यालयमा कर्मचारीको अनुशासन र उपस्थितिमाथि राष्ट्रिय सतर्कता केन्द्रले निगरानी कडा बनाएको छ। पछिल्लो चार महिनामा मात्रै ९२४ सरकारी कार्यालयको अनुगमन गर्दा ११ हजार ४ जना कर्मचारी कारबाहीमा परेका छन्।
राष्ट्रिय सतर्कता केन्द्रका अनुसार गत चैतदेखि साउनसम्म गरिएको अनुगमनमा सबैभन्दा धेरै कर्मचारी आचारसंहिता र समय पालना नगरेको भेटिएका छन्। त्यस्ता १० हजार २६८ कर्मचारीमाथि कारबाहीका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
त्यस्तै तोकिएको पोशाक नलगाउने ६४५ जना र कार्यालय समयमा आफ्नो कार्यकक्षमा नभेटिएका ९१ जना कर्मचारी पनि कारबाहीमा परेका छन्। केन्द्रले अनुशासन उल्लङ्घन गर्ने कर्मचारीलाई प्रचलित कानुनअनुसार कारबाही गर्न सम्बन्धित कार्यालयलाई कडा निर्देशन दिएको जनाएको छ।
सरकारी कर्मचारीविरुद्ध पर्ने उजुरीसमेत उल्लेख्य बढेको छ। चार महिनामा केन्द्रमा १ हजार २९८ उजुरी दर्ता भएकामा १ हजार ११४ वटा अर्थात् ८५ दशमलव ८२ प्रतिशत फछ्र्यौट भएका छन्। अघिल्लो वर्षको सोही अवधिमा ५५६ उजुरी दर्ता हुँदा ४१२ वटा मात्रै फछ्र्यौट भएका थिए।
सरकारले शासकीय सुधारका लागि अघि सारेको १०० बुँदे योजनामा कर्मचारी आचारसंहितालाई कडाइका साथ लागू गर्ने नीति लिएपछि सतर्कता केन्द्रले अनुगमन र कारबाहीलाई तीव्र बनाएको हो।
केन्द्रले आगामी दिनमा छड्के अनुगमन, अनुसन्धान र निगरानीलाई थप प्रविधिमैत्री बनाउने तयारीसमेत गरेको छ। डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता र डेटा विश्लेषणको प्रयोग बढाएर सरकारी कार्यालयको निगरानी प्रभावकारी बनाउने उसको योजना छ।
सरकारी कर्मचारीको अनुशासन, काम नगर्ने प्रवृत्ति वा अनियमिततासम्बन्धी गुनासो केन्द्रको हटलाइन ०१४२००३४५ मा जानकारी गराउन सकिनेछ। शंकास्पद सम्पत्तिसम्बन्धी सूचनासमेत केन्द्रमा दिन सकिने जनाएको छ।
यसले पछिल्लो चार महिनाको तथ्यांकले सरकारी कार्यालयमा कर्मचारीको उपस्थिति र आचारसंहितामाथि निगरानी मात्रै बढेको छैन, गुनासो सुनुवाइ र कारबाहीको गति पनि तीव्र बनेको देखाएको छ।




































