सुर्खेत / कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाबाट तीन बजे विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार उनले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिनुअघि नेकपा एमाले र नेकपाबिच केही बेरमा छलफल हुने नेकपाका नेता कालीबहादुर मल्लले बताएका छन् । विश्वासको मत, सत्ता समीकरण तथा आगामी सरकार सञ्चालनका विषयमा दुई दलबिच छलफल हुन लागेको मल्लले जानकारी दिए ।
मुख्यमन्त्री शाहीले विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन् । आज बस्ने प्रदेशसभा बैठकमा उक्त प्रस्तावमाथि छलफल भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ । विश्वासको मत लिनुअघि सत्ता साझेदार दलहरूबिच सहमति र समन्वय कायम गर्ने प्रयास भइरहेको छ । एमाले र नेकपाबिच हुने छलफललाई मुख्यमन्त्री शाहीको विश्वासको मत तथा आगामी सत्ता सञ्चालनका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गरेपछि सरकारलाई नियमित रूपमा सञ्चालन गर्ने बाटो खुल्नेछ । त्यसपछि सरकारका नीति तथा कार्यक्रम, विकास निर्माण र प्रदेशका समसामयिक समस्यालाई प्राथमिकतामा राखेर अघि बढ्ने अपेक्षा गरिएको छ । यसैबिच, विश्वासको मतका पक्षमा प्रदेशसभामा रहेका दल तथा सांसदहरूको समर्थन जुटाउने विषयमा समेत छलफल भइरहेको छ । एमाले र नेकपाबिचको छलफलपछि सत्ता समीकरण तथा विश्वासको मतसम्बन्धी थप विषय स्पष्ट हुने अपेक्षा गरिएको छ ।






































