काठमाडौं–विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट ५८ वर्षीय जापानिज नागरिक मिट्सुगु शिशिडोको घाइते अवस्थामा उद्धार गरिएको छ। उनलाई सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–४ खुमबालामा लडेर घाइते भएको अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार शिशिडो बिहीबार दिउँसो ३ बजे खुम्बु भ्रमणमा हिँड्ने क्रममा लडेका थिए। रातको समयमा छुकुमबाट खुम्ब्युलापास फर्कने क्रममा उनी बाटो बिर्सेर अन्यत्र पुगेका थिए।

OM Sai Pathibhara Hospital

उनको उद्धार प्रहरी र स्थानीयले मिलेर गरेका थिए। लडेर घाइते भएका शिशिडोको टाउको, अनुहार, र खुट्टामा सामान्य चोट लागेको छ। उद्धार पछि उनलाई दिङ्बुचे क्लिनिकमा उपचार गराइएको छ, र हाल स्वास्थ्य लाभ गरिरहेको जानकारी दिइएको छ।

यसैबीच, सगरमाथा क्षेत्रमा पर्यटकको चाप बढेको बताइएको छ, चिसो बढ्दै गएका कारण बाहिरिने पर्यटकको संख्या भित्रिने भन्दा बढी रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले जानकारी दिएका छन्।