काठमाडौं–गत सोमबारदेखि मुग्निलबाट बेपत्ता भएकी १९ वर्षीया छात्रा बिपना चौधरीको शव नवलपुरको नारायणी नदीको किनारमा फेला परेको छ। बिपना, जो नवलपुरको कुमारवर्ती माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्, मध्यविन्दु नगरपालिका-४ लुस्लहरीकी निवासी हुन्।
बिहीबार साँझ ६ बजेतिर नारायणी नदीको कोलकट्टा क्षेत्रको किनारमा माछा मार्ने बोटेहरूले शव देखेर प्रहरीलाई खबर गरेका थिए। राति नै शवलाई मध्यविन्दु जिल्ला अस्पताल डन्डामा ल्याई पोष्टमार्टम गरिएको छ, र शव बिपनाकै भएको पुष्टि भएको प्रहरीले जनाएको छ।
बिपना क्याम्पसका कक्षा ११ र १२ का साथीहरूसँग कात्तिक १२ गते पिकनिकका लागि तनहुँको बन्दिपुर गएकी थिइन्। फर्कने क्रममा नारायणघाट–बुटवल सडक खण्डको तीन नम्बर पुलमा शौच गर्न गएकी बिपना त्यतिबेलादेखि बेपत्ता भएकी थिइन्। प्रहरीले घटनाका बारेमा अनुसन्धान जारी राखेको छ।