काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम भएको सूचना आएपछि गरिएको व्यापक सुरक्षा जाँचमा कुनै खतरनाक पदार्थ फेला परेको छैन। सुरक्षा जाँच पूरा भएपछि जहाजलाई दिल्ली उडानका लागि अनुमति दिइएको छ।

दिउँसो ३:३९ बजे १६८ यात्रु बोकेर काठमाडौं आइपुगेको यो जहाजमा उडान तयारी भइरहँदा ४:३१ बजे बमको सूचना प्राप्त भएपछि सबै यात्रुलाई ओरालेर विमान र लगेजको सुरक्षा जाँच गरिएको थियो। विमानस्थल प्रहरी प्रमुख एसएसपी डम्बर बहादुर विकका अनुसार, कुकुरसमेतको प्रयोग गरेर लगेज र जहाजको पुन: जाँच गरिए पनि कुनै खतराजनक वस्तु फेला परेको छैन।

OM Sai Pathibhara Hospital

सुरक्षाका लागि सूचना प्राप्त भएलगत्तै नेपाल प्रहरी र सेनाको टोलीले अनिवार्य प्रोटोकलअनुसार जाँच प्रक्रिया पूरा गरेको थियो। यो घटनाअघि पनि एयर इन्डियाको जहाजमा बमको हल्ला फैलिएको थियो, जसमा पनि कुनै खतराजनक वस्तु भेटिएको थिएन।