काठमाडौं–हङकङमा जारी २०औं हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गर्दै शानदार जित दर्ता गरेको छ । कप्तान सन्दीप जोराको आक्रामक ब्याटिङ र प्रतिश जिसीको उत्कृष्ट बलिङको संयोजनले नेपाललाई यो जित दिलाएको हो ।
नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याउँदै अस्ट्रेलियाले ६ ओभरमा सबै विकेट गुमाउँदै १०० रन मात्र बनायो। नेपालका प्रतिश जिसीले २४ रन खर्चेर ३ विकेट लिए, जसले अस्ट्रेलियालाई दवाबमा राख्यो। अस्ट्रेलियाका ज्याक वुडले १६ बलमा ५५ रन बनाएर खेललाई रोचक बनाए पनि अस्ट्रेलिया जित हासिल गर्न असफल रह्यो।
यसअघि, नेपालले टस हारेर ब्याटिङ गर्दै ६ ओभरमा २ विकेट गुमाएर १११ रन बनाएको थियो। कप्तान सन्दीप जोराले १६ बलमा ५ चौका र ४ छक्कासहित ५१ रन बनाएर आक्रामक प्रदर्शन गरे। लोकेश बमले पनि ३३ रनको योगदान दिए।
नेपालले यसअघि इंग्ल्यान्डलाई पनि हराएको थियो र अब क्वार्टरफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।