काठमाडौं— नेपाली कांग्रेसबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद कृष्णबहादुर रोकायाले संसदमा पार्टीको भूमिका सक्रिय र जनमुखी रहने बताएका छन् ।
विहीबार कांग्रेसबाट निर्वाचित प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूको संयुक्त बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नयाँ सरकार गठनपछि बसेको पहिलो संसदीय बैठकमा पार्टीको रणनीतिबारे विस्तृत छलफल भएको जानकारी दिए ।
उनले भने, ‘आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्यो र २१ फागुनको निर्वाचनपछि नयाँ सरकार आइसकेपछि यो पहिलो संसदको बैठक हो । यस बैठकमा नेपाली कांग्रेस कसरी जाने भन्ने सन्दर्भमा छलफल भएको छ ।’
उनका अनुसार बैठकमा कांग्रेस सांसदहरूले संसदमा आफ्नो भूमिका सक्रिय रूपमा निर्वाह गर्ने, सरकारबाट आउने जनपक्षीय र कानुनसम्मत प्रस्तावहरूलाई समर्थन गर्ने तथा विधि र कानुन मिचेर देशको हितविपरीत हुने गतिविधिमा सशक्त खबरदारी गर्ने सहमति भएको छ ।
रोकायाले कांग्रेसले सरकारलाई आवश्यक अवस्थामा सहयोग गर्ने तर गलत कदमप्रति सजग र सचेत बनाउने जिम्मेवारी पनि निर्वाह गर्ने स्पष्ट पारे ।
उनले भने, ‘नेपाली कांग्रेसका सांसदहरुले आफ्नो भुमिकालाई सक्रियता पूर्वक भूमिका निर्वाह गर्ने र सरकारले ल्याउने जनताको पक्षमा ल्याउने जतिपनि जनपक्षीय सवालमा त्यसलाई समर्थन गर्ने, कानुन सम्मत ल्याउने कुरालाई समर्थन गर्दै जाने र विधि र कानुनलाई मिच्दै जाने ढङगले देशको अहित हुने कुरामा खवरदारी गरि सरकारलाई सजक र सचेत बनाउछौ भन्ने कुरामा छलफल भएको छ ।’






































