काठमाडौं – आज कात्तिक शुक्ल प्रतिपदा, तिहारको चौथो दिन, गोरु, गोवर्द्धन, हली, गाई र आत्म (म्हः) पूजाका विशेष अवसरका रूपमा मनाइँदैछ। यस दिन गोरुलाई वर्षभर कृषिमा गरेको सेवाका लागि पूजा गरी मीठा परिकार खुवाइन्छ, जसलाई हली तिहार पनि भनिन्छ।

गोवर्द्धन पूजामा आँगनमा गाईको गोबरबाट गोवर्द्धन पर्वतको प्रतीक बनाई पूजा गरिन्छ। यो परम्परा द्वापर युगमा भगवान श्रीकृष्णले गोवर्द्धन पर्वत उठाई गोकुलवासीलाई मुसलधारे वर्षाबाट जोगाएको सम्झनामा बसालेको विश्वास छ। गोवर्द्धन पूजाको विधि प्रतिपदा तिथिमा सूर्योदयमा गर्नुपर्ने पञ्चाङ्ग समितिले जनाएको छ।

OM Sai Pathibhara Hospital

त्यसैगरी, आजको दिन गाईको पूजा गरी उसलाई मीठा परिकार खुवाउने परम्परा छ। गाईलाई पवित्र र लाभकारी मानिँदै धार्मिक, सामाजिक, र स्वास्थ्य दृष्टिले समेत महत्व दिइन्छ। गाईको सेवा र सम्मानले सधैँ पवित्रता प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

यसै दिन नेवारी समुदायमा आत्म (म्हः) पूजा पनि मनाइन्छ, जसमा आत्मालाई महत्वपूर्ण मानी उसको सन्तुष्टि र समृद्धिका लागि पूजा गरिन्छ। यो पर्व काठमाडौं, ललितपुर, भक्तपुरलगायत नेवारी समुदायको बाहुल्यता रहेका क्षेत्रमा विशेष उत्साहका साथ मनाइन्छ।