ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङमा परम्परागत रोपाइँ जात्रा मनाइएको छ । नेपाल भाषा तथा सांस्कृतिक समाज ताप्लेजुङको आयोजनामा रोपाइँ जात्रा मनाइएको हो ।
धान रोपाइँ सकिएपछि असार महिनामा मनाइने यो जात्रा नेवार समुदायको मौलिक संस्कृतिसँग जोडिएको छ । रोपाइँको झल्को दिने गरी विभिन्न सांस्कृतिक गतिविधि, भेषभूषा र रमाइलो प्रस्तुतिसहित जात्रा मनाइएको हो ।
रोपाइँ जात्राले कृषि कर्म, विशेषगरी धान रोपाइँसँग जोडिएको नेपाली मौलिक परम्परा र संस्कृतिलाई जीवन्त राख्ने काम गर्दै आएको छ । जात्रामा स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो ।
ताप्लेजुङमा बसोबास गर्ने नेवार समुदायले आफ्नो भाषा, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक पर्व तथा जात्रा मनाउँदै आएका छन् ।






































