काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–९ स्थित प्रसिद्ध पलाञ्चोक भगवतीको मूर्तिमा शनिबार साँझ आरतीका क्रममा पसिना देखिएपछि मन्दिरमा विशेष पूजा गरिएको छ ।
आरती चलिरहेका बेला मूर्तिमा पसिना देखिएको भन्दै मन्दिर व्यवस्थापन पक्षले तत्काल मूर्तिलाई स्नान गराई तान्त्रिक विधिबाट क्षमा पूजा गरेको हो ।
मन्दिर व्यवस्थापन उपसमितिका पूर्व संयोजक किरण श्रेष्ठका अनुसार यसअघि पनि मुलुकमा ठूला प्राकृतिक विपत्ति तथा राजनीतिक संकटका बेला पलाञ्चोक भगवतीको मूर्तिमा यस्तै संकेत देखिएको विश्वास स्थानीयस्तरमा रहँदै आएको छ ।
उनका अनुसार १९९० सालको भूकम्पदेखि २०५८ सालको दरबार हत्याकाण्ड, २०७२ सालको भूकम्प, २०८१ सालको बाढीपहिरो तथा गत वर्षको जेनजी आन्दोलनका समयसमेत मूर्तिमा पसिना आएको बताइन्छ । यही धार्मिक विश्वासका आधारमा यसपटक पनि विशेष क्षमा पूजा गरिएको हो ।
पलाञ्चोक भगवतीलाई स्थानीय धार्मिक परम्परामा शक्तिस्वरूपा देवीका रूपमा पूजा गरिन्छ । करिब १ हजार ६ सय ५५ वर्ष पुरानो मानिने मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्वका कारण यहाँ वर्षभरि दर्शनार्थी पुग्ने गर्छन् ।
मन्दिरसँग जोडिएका विभिन्न किंवदन्तीअनुसार भगवतीको मूर्ति बुच्चाकोटबाट हालको स्थानमा ल्याइएको मानिन्छ । मूर्ति अन्यत्र लैजान नसकिएपछि त्यही स्थानमा मन्दिर स्थापना गरी पूजा सुरु गरिएको जनविश्वास छ ।
पलाञ्चोक भगवतीको मन्दिरमा दशैंका बेला विशेष भीड लाग्ने गर्छ । नवरात्रिमा पूजाआजा तथा बलि दिने परम्परा छ भने वैशाख पूर्णिमा, माघे सङ्क्रान्ति र जेठ पूर्णिमालगायतका अवसरमा समेत धार्मिक मेला लाग्ने गर्दछ ।
मूर्तिमा पसिना आएको घटनालाई स्थानीयले धार्मिक संकेतका रूपमा लिएका छन् । तर, यस्तो घटनालाई लिएर गरिने धार्मिक व्याख्या भने आस्था र जनविश्वासमा आधारित रहेको विषय हो ।






































