काठमाडौँ / ग्यालेक्सी फोर के टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् ।
संसदीय चुनावमा उम्मेदवारी दिन उनले आज (बिहीबार) टेलिभिजनबाट राजिनामासमेत दिएका छन् । ग्यालेक्सीको कार्यालयमा आयोजित बिदाई कार्यक्रममा टेलिभिजनका कर्मचारीहरूसँग बोल्दै लामिछानेले आजैका मितिदेखि राजनीतिमा प्रवेश गरेको बताएका हुन् ।
लामिछानेले काठमाडौंको कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने चाहिँ अन्तिम टुंगो लागिसकेको छैन । तर, उनले ३ नम्बर क्षेत्र रोज्ने सम्भावना प्रबल रहेको स्रोतको भनाइ छ ।
लामिछाने उक्त टिभीका संस्थापक तथा प्रस्तोता थिए । रविले चलाउने कार्यक्रम सिधा कुरा जनतासँगको अन्तिम एपिसोड आज प्रसारण हुँदैछ । उनले आफ्नो कार्यक्रम युवराज कँडेललाई हस्तान्तरण गरेको बताइएको छ । कँडेल उक्त कार्यक्रममा भ्वाइस ओभर गर्ने गर्थे ।