काठमाडौं /अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीका पिता जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ।
उनको निधनसँगै विश्व फुटबलमा मेस्सीको सफल यात्राका प्रमुख प्रेरक र मार्गदर्शकका रूपमा जर्जको योगदान पुनः चर्चामा आएको छ। स्टिल कारखानामा सुपरभाइजरका रूपमा काम गरेका जर्जले पछि आफ्नो पेशा परिवर्तन गर्दै छोरा लियोनल मेस्सीको एजेन्ट र रणनीतिक सल्लाहकारको भूमिका निर्वाह गरेका थिए। उनले बाल्यकालदेखि नै मेस्सीको प्रतिभामा विश्वास गर्दै फुटबल करियर निर्माणका लागि निरन्तर साथ दिएका थिए।
मेस्सीलाई अर्जेन्टिनाको क्लब न्यूइल्स ओल्ड ब्वाइजमा खेल्ने अवसर दिलाउनदेखि १३ वर्षको उमेरमा स्पेन लगेर बार्सिलोनाको युवा एकेडेमीमा आबद्ध गराउनसम्म जर्जको महत्वपूर्ण भूमिका रहेको थियो। त्यतिबेला ग्रोथ हर्मोनको कमीका कारण स्वास्थ्य समस्यासँग जुधिरहेका मेस्सीको उपचार खर्च बार्सिलोनाले व्यहोरेको थियो।
नियमित उपचारपछि उनको शारीरिक विकासमा सुधार आउँदा व्यावसायिक फुटबल करियरले नयाँ उचाइ लिएको मानिन्छ।जर्ज मेस्सीको निधनपछि अर्जेन्टिना फुटबल एशोसियसन ९एएफए० र स्पेनिस क्लब बार्सिलोनाले गहिरो दुःख व्यक्त गरेका छन्। दुवैले सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै मेस्सी परिवारप्रति समवेदना प्रकट गरेका छन्।
जर्ज मेस्सीकी पत्नी सेलिया कुच्चितिनी हुन्। उनका चार सन्तानमध्ये लियोनल मेस्सी, रोड्रिगो, माटियास र मारिया सोल रहेका छन्।






































