काठमाडौं । नेपाल सरकारले सुरक्षा संवेदनशीलता देखाउँदै रोक लगाएको अन्तर्राष्ट्रिय तिब्बती अध्ययन सम्मेलन रोकिएन। नेपालमा गर्न नदिएपछि आयोजकले सम्मेलनलाई भर्चुअल माध्यमबाट सञ्चालन गर्ने निर्णय गरेको छ। इन्टरनेसनल एसोसिएसन फर तिब्बेन स्टडिज ९आईएटीएस० ले अगस्ट २३ देखि २९ सम्म तय भएको १७औँ सेमिनार तोकिएकै मितिमा अनलाइनमार्फत गर्ने घोषणा गरेको हो। काठमाडौं विश्वविद्यालय सहआयोजक रहेको सम्मेलनमा अन्तिम समयमा सरकारले रोक लगाएपछि विश्वविद्यालयले आयोजकको जिम्मेवारीबाट हात झिकेको थियो। त्यसपछि आईएटीएस बोर्डले सम्मेलनको जिम्मेवारी आफैं सम्हाल्ने निर्णय गरेको हो।

आयोजकका अनुसार ७०० भन्दा बढी सहभागीले शुल्क तिरेर नाम दर्ता गराइसकेका थिए। धेरैले हवाई टिकट खरिद गर्नुका साथै काठमाडौंका होटलमा कोठासमेत बुक गरिसकेका थिए। अन्तिम समयमा कार्यक्रम रोकिँदा ठूलो आर्थिक क्षति भएको आयोजकको दाबी छ।

आयोजकले घटनाले नेपालमा अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रम आयोजना गर्ने वातावरण र नेपालको प्रतिष्ठामाथि प्रश्न उठ्न सक्ने चेतावनी दिएको छ।तिब्बती मामिलासँग सम्बन्धित विषय भएकाले चीनको चासोपछि सरकारले सुरक्षा संवेदनशीलता देखाउँदै कार्यक्रम रोक्न निर्देशन दिएको बताइएको छ।

आईएटीएसले यसअघि नै सन् २०२३ मा काठमाडौं विश्वविद्यालयसँग सम्मेलन आयोजना गर्ने सहमति भएको र तीन वर्षको तयारीका क्रममा कुनै पक्षबाट आपत्ति नआएको दाबी गरेको छ।कार्यक्रम रोकिएपछि आयोजकले शिक्षामन्त्री सस्मित पोखरेलसँग समेत सहयोग मागेको थियो। तर सहजीकरण नभएपछि अब सम्मेलन पूर्ण रूपमा अनलाइन माध्यमबाटै सञ्चालन गर्ने निर्णय गरिएको हो।

नेपालमा मञ्च खोसियो, तर सम्मेलन रोकिएन—अब विश्वभरबाट एउटै भर्चुअल मञ्चमा तिब्बती अध्ययनबारे बहस हुने भएको छ।