काठमाडौँ / प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै संसद्मा अवरोध गरेको छ।
सभामुख अग्निप्रसाद सापकोटाले बजेटमाथि उठेका प्रश्नको जवाफका लागि अर्थमन्त्री शर्मालाई रोस्टममा बोलाएपछि एमाले सांसदहरुले उठेर अवरोध गरेका हुन्।
एमालेका सांसदहरू उठेपछि सभामुख सापकोटाले भानुभक्त ढकाललाई बोल्न दिएका थिए । ढकालले अर्थमन्त्री शर्मा विचौलियाको चङ्गुलमा फसेको भन्दै शर्माको जवाफ आफूहरूलाई नचाहिएको बताए।
त्यस्तै उनले अर्थमन्त्रीको कार्यसूची नहटाएसम्म अवरोध जारी राख्ने बताए। हाल एमाले सांसदहरुले उठेर अवरोध जनाइरहेका छन्।