झापा / ओखलढुङ्गामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विद्यालयका प्रधानाध्यापक सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका- ३ स्थित नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक ४० वर्षीय पूर्णप्रसाद फुयाँल , सिद्धिचरण नगरपालिका- ३ का ३२ वर्षीय डम्बर भुजेल, ३१ वर्षीय केवल भुजेल र ७६ वर्षीय फडिन्द्रप्रसाद दाहाल रहेको प्रहरीले जनाएको छ ।
नारायणस्थान माविमा कक्षा ८ मा अध्ययनरत बालिकालाई आरोपितहरूले पटकपटक बलात्कार गरेको र अन्तिम पटक ०७९ जेठ २० गते बलात्कार गरेको आरोपमा जेठ ३० गते बाँकी तीनजना र प्रधानाध्यापक फुयाँललाई जेठ ३१ गते घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।
प्रधानाध्यापक सहित अन्य तीन जनाले बालिकालाई धम्की र प्रलोभनमा पारी पटकपटक बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितहरू विरूद्ध जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि पक्राउ गरेको हो ।