काठमाडौं / काठमाडौंमा २४ वर्षीय युवतीलाई होटलमा लागी सामूहिक बलात्कार गरेको आरोपमा चार जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाहीका ३४ वर्षीय उत्तम लामा र होटलका सञ्चालक सिन्धुपाल्चोकका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्पा रहेको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका- ६ बौद्धस्थित लुङ्ता गेष्टहाउबाट ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनाली जानकारी दिए ।
प्रवक्ता मैनालीका अनुसार होटल सञ्चालक शेर्पाको मिलेमतोमा बाँकी तीन जनाले पालैपालो युवतीमाथि बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीले घटना घटेको १६ घण्टाभित्र उनीहरूलाई पक्राउ गरेको हो ।प्रहरीले पीडित युवतीलाई होटलबाट उद्धार गरी प्रसूतिगृह थापाथली लगेर स्वास्थ्य परीक्षण गरेको प्रवक्ता मैनालीले बताए ।
प्रहरीले पक्राउ परेका चारै जनालाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को करणीसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।