झापा / नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विरुद्ध रिट निवेदन हेर्दाहेर्दैमा राखिएको छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडालको पूर्ण इजलासमा परेको उक्त मुद्दाको सुनुवाइ नसकिएपछि असार ५ गतेका लागि हेर्दाहेर्दैमा राखिएको हो ।
वैशाख १८ गते मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । एआईजी विश्वराज पोखरेलले आफूभन्दा १६ महिना जुनियर एआईजी सिंहलाई आईजीपी बनाएको भन्दै सर्वोच्च पुगेका थिए ।
उक्त रिटमा वैशाख २२, जेठ १७ गरी दुईपटक सुनुवाइ भइसकेको छ । अन्तिम सुनुवाइका लागि ३० जेठका लागि मिति तोकिएको थियो ।
सोही रिटमाथि सुनुवाइ गरेका पक्ष र विपक्षका कानुन व्यवसायीहरूले बहसका लागि थप समय माग गरेपछि हेर्दाहेर्दैमा राखेर असार ५ गतेका लागि सुनुवाइको मिति तोकिएको हो ।
अब असार ५ गते पनि उक्त मुद्दा कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालकै इजलासमा सुनुवाइ हुनेछ ।