अछाम / अछामको पञ्चदेवल विनायक नगरपालिका –४ का विनोद शाही मृत्यु प्रकरणमा प्रहरीले हत्या आरोपमा ५ जनालाई पक्राउ गरेको छ।
मंगलबार साँझ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश बिष्टले बताए ।
‘सिआइबीले हिजो साँझ ५ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ। अहिले घटनाको अनुसन्धान सिआइबीले नै गरिरहेको छ,’ विष्टले भने।
जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा भएको द्वन्द्वपछि बेपत्ता भएका शाहीको शव शनिबार बिहान स्थानीयले फेला पारेका थिए। मध्यपहाडी राजमार्गमा पर्ने पञ्चदेवल विनायक नगरपालिका –४ स्थितकुच्ची भीरको खोँचमा उनको शव फेला परेको थियो।
मृतक किशोरका आफन्तले कांग्रेसको योजनाअनुसार हत्या भएको आरोप लगाएका छन्।