काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व, महाधिवेशन र आन्तरिक विवादलाई लिएर बहस चर्किरहेका बेला सभापति गगन थापाले आफू कुनै दबाब वा प्रलोभनबाट प्रभावित नहुने स्पष्ट सन्देश दिएका छन्। उनले पार्टी सञ्चालनमा व्यक्तिगत आग्रहभन्दा विधानलाई आधार बनाउने र चार पुस्तालाई समेटेर कांग्रेस अघि बढाउने दाबी गरेका छन्।
केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा थापाले आफूलाई तर्साएर, दबाएर वा फकाएर निर्णय परिवर्तन गराउन नसकिने बताए। ‘तर्साएर तर्सिन्न, दबाएर दबिन्न, फकाएर फकिन्न’ भन्दै उनले विधानको सीमाभित्र रहेर पार्टीलाई एकताबद्ध बनाउने आफ्नो रणनीति स्पष्ट पारे।
थापाको अभिव्यक्ति कांग्रेसभित्र देखिएको शक्ति संघर्ष र नेतृत्वप्रतिको असन्तुष्टिबीच आएको हो। उनले पार्टीमा चार पुस्ता सक्रिय रहेको उल्लेख गर्दै कुनै एक समूह वा पुस्ताको प्रभावमा नभई सबैलाई सम्मान र संवादका माध्यमबाट जोडेर लैजाने बताए।
विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका आधारमा पार्टीभित्र कसैलाई विभेद नगरिने उनको स्पष्टोक्ति छ। यसले पछिल्लो विवादलाई गुटगत टकरावमा परिणत हुन नदिई आगामी महाधिवेशनमार्फत संगठनलाई पुनः एकीकृत गर्ने उनको प्रयास देखाउँछ।
असोजमा १५औँ महाधिवेशन गर्ने तयारी भइरहेकाले संगठनात्मक तहका केही प्रक्रिया भने फेरबदल हुन सक्ने संकेत थापाले दिएका छन्। विशेषगरी क्रियाशील सदस्यता अद्यावधिकमा छुटेका कार्यकर्तालाई समेट्न वडालगायत केही तहको अधिवेशन कार्यतालिका हेरफेर हुन सक्ने उनको भनाइ छ।
विशेष महाधिवेशनसँग सम्बन्धित मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै थापाले त्यसलाई पनि पार्टीले कानुनी रूपमा सशक्त ढंगले अघि बढाउने बताए। अर्थात्, अदालतको निर्णय र पार्टीको आन्तरिक राजनीतिक प्रक्रियालाई समानान्तर रूपमा अघि बढाउने उनको संकेत छ।
आफूप्रति पार्टीभित्रैबाट हुने आलोचनाबारे पनि थापाले बैठकमा खुलेर धारणा राखे। सामाजिक सञ्जालमा हुने आलोचनाभन्दा गाउँ–टोलमा रहेका कांग्रेस कार्यकर्ता र शुभेच्छुकको समर्थनलाई आफूले बढी महत्व दिने उनको भनाइ थियो।






































