झापा / जाजरकोटको नलगाड नगरपालिका- ५ रघुनाथ सेराखेत स्थित श्री जनकल्याण आधारभुत विद्यालयमा जेठ १८ गते राति तोडफोड भएको छ । तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले नलगाड नगरपालिका- ५ रघुनाथका २० वर्षीय जनक ओली र सोही ठाउँका २१ वर्षीय विनोद खत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।
घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट प्रहरी निरीक्षक अर्जुनसिंह साउदको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूकै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका उनीहरू विरुद्ध जिल्ला अदालतबाट आपराधिक कार्यसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तोडफोडबाट विद्यालयको करिब ८ देखि १० लाख रुपियाँ बराबरको क्षति भएको विद्यालयका शिक्षक मदन रावलले बताएका छन् । उनीहरूले विद्यालय कार्यालयको ढोका फोरेर कोठाभित्र रहेका कम्प्युटर, कुर्सी, टेबुल लगायतका समानहरू तोडफोड गरेका थिए । तोडफोडको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।