काठमाडौं । ललितपुरको बीएण्डबी अस्पतालमा १७ वर्षीया किशोरीको डिम्ब निकालिएको भनिएको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनामा संलग्नता देखिएको भन्दै वरिष्ठ स्त्रीरोग तथा टेस्टट्युब बेबी विशेषज्ञ डा. नूतन शर्मासँग प्रहरीले बयान लिएको छ।

असार १४ गते ग्वार्कोस्थित अस्पतालको आइभीएफ सेन्टरमा किशोरीको डिम्ब निकालिएको आरोपपछि परिवारले साउन १ गते प्रहरीमा जाहेरी दिएको थियो। अनुसन्धानका क्रममा प्रहरीले डा. शर्मासँग बयान लिएर उनलाई हाजिर जमानीमा छाडेको ललितपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा बिचौलियाको भूमिकामाथि समेत अनुसन्धान भइरहेको छ। यसअघि प्रहरीले लमजुङकी राधिका गोतामेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। उनलाई पनि हाजिर जमानीमा राखिएको छ।

अनुसन्धानमा किशोरीलाई ३० हजार रुपैयाँ दिने प्रलोभनमा डिम्ब निकालिएको र त्यसपछि उनी बिरामी भएपछि परिवारले घटनाबारे जानकारी पाएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

डा. शर्मालाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीले अदालतसँग अनुमति मागेको भए पनि अनुमति नपाएपछि सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा राखेर थप प्रमाण संकलन भइरहेको प्रहरीले जनाएको छ।

घटनाले नाबालिगको स्वास्थ्यमा गरिएको संवेदनशील चिकित्सकीय प्रक्रियामा सहमति, कानुनी प्रक्रिया र चिकित्सकीय जिम्मेवारी कति पालना भयो? भन्ने गम्भीर प्रश्न उठाएको छ।

प्रहरीले चिकित्सक, बिचौलिया र घटनासँग जोडिएका अन्य व्यक्तिको भूमिकाबारे प्रमाण संकलन गरिरहेको जनाएको छ। अनुसन्धानबाट किशोरीको डिम्ब निकाल्ने प्रक्रिया कसरी अघि बढ्यो, कसको संलग्नता थियो र त्यसमा कानुनी तथा चिकित्सकीय मापदण्ड पालना भयो वा भएन भन्ने विषय स्पष्ट हुने अपेक्षा गरिएको छ।