काठमाडौं । प्रहरीको परिचय दिँदै आएको भनिएको एक समूहले मोटरसाइकलबाट युवकलाई झारेर स्कर्पियोमा राखी लगेको घटनाले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। शनिबार दिउँसो कोटेश्वरबाट टीकाथलीतर्फ जाँदै गरेका कञ्चनपुरका पुष्पेश भाट त्यसरी लगिएको दाबी गरिए पनि २० घण्टा बितिसक्दा उनको अवस्था अझै अज्ञात छ ।
पुष्पेश याङ्गोमार्फत मोटरसाइकलमा सवार थिए। चालक जिलाप तामाङका अनुसार चारवटा स्कुटर र एउटा स्कर्पियोमा आएको समूहले बाटोमै मोटरसाइकल रोकेर आफूहरू प्रहरी भएको बताएको थियो। त्यसपछि पुष्पेशलाई मोटरसाइकलबाट झारेर स्कर्पियोमा राखी लगिएको उनको भनाइ छ ।
घटनापछि परिवारले विभिन्न प्रहरी कार्यालय धाए पनि पुष्पेश प्रहरी नियन्त्रणमा रहेको पुष्टि हुन सकेको छैन। टीकाथली प्रहरी चौकीदेखि सातदोबाटो, बानेश्वर, टेकुस्थित अपराध अनुसन्धान महाशाखा, उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा प्रहरी प्रधान कार्यालयसम्म जानकारी खोज्दा पनि ठोस विवरण नपाएको परिवारको गुनासो छ । सबैभन्दा गम्भीर प्रश्न यही बनेको छ-यदि उनलाई प्रहरीले लगेको होइन भने प्रहरीकै नाममा कसले नियन्त्रणमा लिएर गयो?
पुष्पेशका भाइ शुभमले दाजु सम्पर्कविहीन भएपछि तत्काल खोजी थालेका थिए। परिवारका अनुसार उनी पाटन बहुमुखी क्याम्पसमा अध्ययनरत छन् र केही दिनअघि मात्रै परीक्षा दिन काठमाडौं आएका थिए।
परिवारले घटना सामान्य बेपत्ता भएको विषय मात्र नभई प्रहरीको परिचय प्रयोग गरेर व्यक्तिलाई जबर्जस्ती लगिएको हुनसक्ने गम्भीर घटना भन्दै तत्काल छानबिन र पुष्पेशको अवस्थाबारे यथार्थ जानकारी सार्वजनिक गर्न माग गरेको छ । घटनामा प्रयोग भएको स्कर्पियो, चार स्कुटर, घटनास्थल वरपरका सीसीटीभी फुटेज तथा मोबाइल सम्पर्कको अनुसन्धानबाट वास्तविकता पत्ता लगाउन सकिने देखिन्छ ।
युवक कहाँ छन् भन्ने प्रश्नसँगै प्रहरीको नाम दुरुपयोग गरेर कसैले नागरिकलाई नियन्त्रणमा लिन सक्ने अवस्था कसरी बन्यो भन्ने प्रश्न पनि उत्तिकै गम्भीर बनेको छ ।






































