भैरहवा / जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रुसहितको बस भैरहवा–परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । 

दुर्घटनामा परी मृत्यु हुने ९ जनामध्ये पाँच जनाको मात्र पहिचान भएको छ र अन्य चार जनाको पहिचान हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

केसीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहटका २० वर्षीय दिनेश दास र बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रुपन्देहीको ओमसतिया –४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको खुलेको छ ।

दुर्घटनामा भारतीय नागरिक ४० वर्षीय अरविन्द शर्माको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । 

लु २ ख ३८४१ नम्बरको उक्त रात्रिकालीन बस आइतबार बिहान पौने ५ बजेतिर भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट तल खोलामा खस्दा दुर्घटनामा परेको थियो ।

दुर्घटनाबाट घाइते भएकाहरूको भैरहवास्थित भीम अस्पतालमा र युनिभर्सल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । हाल उपचाररत रहेका २४ जना यात्रुमध्ये १६ जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । 

के कारणले दुर्घटना भएको हो भन्ने बारेमा कारण खुल्न सकेको छैन । अधिकांशले घाइते यात्रुले दुर्घटनाको बेलामा आफू निदाएको बताएका छन् ।