धनगढी / कैलालीको धनगढीबाट ३८ थान नक्कली नोटसहित प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका –७ बस्ने ३५ वर्षीया सुमित्रा राना, वडा नम्बर ८ बस्ने ३८ वर्षीया चन्द्रा बोहरा र वडा नम्बर २ सन्तोषी टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका –१४ की २७ वर्षीया रितु चौधरी रहेका छन्।

OM Sai Pathibhara Hospital

उपमहानगरपालिका –१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

शुक्रवार राति हाटबजार रानाले नक्कली नोट लिई किनमेल गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिए टोलीले उनलाई  १ हजार दरका ३० थान नक्कली नेपाली नोटसहित पक्राउ गरेको कैलाली प्रहरीका प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले बताए। 

थप सोधपुछ गर्दा उक्त कारोबारमा चन्द्रा समेत संलग्न रहेको खुलेपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा रितु चौधरीको कोठाबाट १ हजार दरका ८ थान नक्कली नोट फेला पारी तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो।