बिर्तामोड / कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई झापाको बाह्रदशी गाउँपालिकाले निःशुल्क पढाउने भएको छ । पहिलो कार्यपालिका बैठकले सो निर्णय गरेको गाउँपालिका अध्यक्ष देवेन्द्र चम्लागाईले जानकारी दिए । यस्तै कार्यपालिका बैठकमा मनोनीत ६ जनालाई शपथ ग्रहण गराइएको छ ।
बाह्रदशी गाउँपालिका भित्र रहेका १६ वटा सामुदायिक विद्यालय मध्ये ३ वटा विद्यालयमा कक्षा ११ र १२ कक्षाको पठनपाठन भइरहेको छ । वडा नं.३ को पशुपति मावि, वडा नं. ५ को फूलबारी मावि र वडा नं. ७ को गौरीशङ्कर माविमा ११-१२ पढाई हुने गरेको छ ।
कार्यपालिका बैठकले ५ वटा उपसमिति गठन गरेको छ । मनबहादुर राजवंशीको संयोजकत्वमा आर्थिक विकास समिति, पञ्चानन राजवंशीको संयोजकत्वमा सामाजिक विकास समिति, लक्ष्मी निरौला अधिकारीको संयोजकत्वमा भौतिक पूर्वाधार समिति, महताव आलमको संयोजकत्वमा वन वातावरण तथा विपद् व्यवस्थापन समिति र तारादेवी थपलियाको संयोजकत्वमा क्षमता विकास समिति गठन गरिएको प्रशासन शाखा प्रमुख तेजु रेग्मीले जानकारी दिए ।