काठमाडौँ / सर्वोच्च अदालतले आफ्नै बुबाले अपहरण गरी भारतबाट नेपाल ल्याएको दाबी गरिएकी बालिकालाई बुबाकै जिम्मा लगाइदिएको छ ।

गत अप्रिल १५ मा भारतको नयाँ दिल्लीबाट अपहरणको शैलीमा सडक मार्ग हुँदै नेपाल ल्याइएकी मेहेर गोयललाई सर्वोच्चले बुबाको जिम्मा लगाइदिएको हो ।

OM Sai Pathibhara Hospital

निजी अन्तर्राष्ट्रिय कानुन र प्राप्त कागजातका आधारमा बालिकालाई बुबालाको जिम्मा लगाइएको बताइएको छ । भारतमा आमाको संरक्षणमा रहेकी बालिकालाई उनका बुबाले झुक्याएर नेपाल ल्याएका थिए ।

यसरी आफ्नो संरक्षणमा रहेकी छोरीलाई बालिकाको बुबाले झुक्याएर नेपाल ल्याई अमेरिका लैजान खोजेको भन्दै बालिकाकी आमा कनिका गोयल अपहरण तथा शरीर बन्धक र बन्दी प्रत्यक्षीकरणको रिट बोकेर सर्वोच्च अदालत आएकी थिइन् । 

करिब एक महिना चलेको उक्त मुद्दामा सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै बालिकालाई उनकै बुबाको जिम्मा लगाउने फैसला गरेको हो ।

बालिका अमेरिकी नागरिक रहेको, अमेरिकाको अदालतले बालिकाको अभिभावकत्व जैविक पिता करण गोयललाई दिएको र नागरिकता पनि अमेरिकन नै हुने कागजात पेस भएको भन्दै अमेरिकी नागरिक रहेका बुबाको जिम्मा लगाएको हो ।

जेठ ६ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासमा परेको उक्त रिट हेर्दाहेर्दैमा राखिएको थियो । त्यसपछि जेठ ९ गते पेसीमा चढेको उक्त रिट जेठ ११ का लागि निसु (निर्णय सुनाउने)मा राखिएको थियो ।

निसुमा रहेको उक्त रिटमाथि न्यायाधीशद्वय मल्ल र चुडालको इजलासले रिट खारेज गर्दै बुबाको संरक्षकत्वमा रहने र अमेरिका लैजान पाउने फैसला गरेको हो ।