काठमाडौँ / सवारी साधनमा साउन १ गते भित्र अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । इम्बोस्ड नम्बर प्लेट जडान नभए साउन १ गतेबाट कारबाही हुने यातायात व्यवस्था विभागले जनाएको छ । 

OM Sai Pathibhara Hospital

विभागका अनुसार बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारीहरुमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने छ । 

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसूची–२, भाग–२ र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ४ को उपनियम (४) मा रहेको प्रावधान कार्यान्वयन गर्न लागिएको विभागले जनाएको छ । 

१ साउन पछि ट्राफिक प्रहरीबाट सडक अनुगमन गरिने र तोकिए अनुसार इम्बोस्ड प्लेट जडान नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही हुने विभागले जनाएको छ । 

इम्बोस्ड नम्बर प्लेट के हो ?

इम्बोस्ड नम्बर प्लेट भनेको सवारी साधनको नियमन गर्ने प्रणाली हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सवारीको नियमन गर्ने प्रणाली नै इम्बोस्ड नम्बर प्लेट भएको विभागको भनाई छ ।

धातुको प्लेटमा यान्त्रिक माध्यममार्फत अक्षर र अङ्क राख्ने काम नै इम्बोस्ड नम्बर प्लेटको जडान हो । हाल देखिने नेपाली अक्षर र अङ्क अंकित प्लेटभन्दा इम्बोस्ड नम्बरको अङ्क र अक्षर प्लेटको सतहभन्दा केही माथि उठ्छ ।

फाइदा के ?

इम्बोस्ड नम्बर प्लेट अभियान कार्यान्वयन भएपछि नेपाल भित्र हुने सवारीसाधन चोरीका घटना नियन्त्रण हुने विभागको दाबी छ । यस्तो प्लेट एक पटक जडान गरेपछि १० वर्षका लागि ढुक्क हुने भएकाले बीचमा झिक्न वा फेर्न मिल्दैन ।

इम्बोस्ड नम्बर प्लेटमै रेकर्ड राखिने हुँदा कर नतिरी चलेका सवारी ठाउँको ठाउँ नियन्त्रणमा लिन सकिने दाबी गरिएको छ । इम्बोस्ड नम्बर प्लेटमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन भन्ने नम्बर हुन्छ, यो नम्बरले कुन सवारी, कति नम्बरको सवारी, कहाँ छ, कस्तो अवस्थामा छ भनेर सजिलै पत्ता लगाउन सकिन्छ ।

कति लाग्छ त शुल्क ?

विभागका अनुसार दुई पाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न २ हजार ५ सय रुपैयाँ शुल्क लाग्नेछ भने तीन पाङ्ग्रे सवारीमा २ हजार ९ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ । त्यस्तै मझौला सवारी तथा सानो (चार पाङ्ग्रे सवारी) मा ३ हजार २ सय रुपैयाँ र ठूला सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न ३ हजार ६ सय रुपैयाँ शुल्क लाग्छ ।

जडान गर्न कहाँ जाने ?

पाँग्रे सवारीमा यातायात व्यवस्था कार्यालय गुर्जुधारामा गएर इम्बोस्ड नम्बर जडान सकिनेछ । ३ पाङ्ग्रे र र साना मझौला ४ पांग्रे सवारीले परीक्षण कार्यालय, टेकुमा गएर यस्तो नम्बर प्लेट जडान गर्नुपर्नेछ ।

ठूला सवारीका लागि यातायात व्यवस्था कार्यालय, एकान्तकुना र सरकारी सवारीका लागि यातायात व्यवस्था विभाग, मीनभवनमा जडान स्थल तोकिएको छ ।