झापा / लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका- १ स्थित एक स्कुलमा सञ्चालन भइरहेको परीक्षा सामेल रहेका कास्की पोखरा महानगरपालिका- २ बस्ने ४२ वर्षीय दिपेन्द्र प्रसाद बास्ताकोटीलाई पक्राउ गरेको छ ।
महोत्तरी साविक पोखभिण्डा गाविस बस्ने अभय कुमार यादवको ठाउँमा बास्ताकोटीले परीक्षा दिइरहेको अवस्थामा फेला पारी लोकसेवा आयोगको परीक्षाको केन्द्राध्यक्षले तत्काल प्रहरीलाई जानकारी गराउनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै उनको झोलाबाट नगद ५८ हजार ५ सय रुपैयाँ र विभिन्न व्यक्तिहरूको ४ थान नागरिकता समेत फेला पारी प्रहरीले बरामद गरेको छ ।
यसैगरी हेटौंडा उपमहानगरपालिका- ११ स्थित यातायात ब्यवस्था कार्यालय हेटौंडाले लिइरहेको मोटरसाइकलको सवारी चालक अनुमति पत्रको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा मकवानपुर बकैया गाउँपालिका- ७ बस्ने २० वर्षीय सन्तोष गौतम बिहीबार दिउँसो पक्राउ परेका छन् ।
सोही गाउँपालिका- ७ बस्ने टुक नाथ गौतमको ठाउँमा उनकै छोरा सन्तोषले परीक्षा दिई रहेको अवस्थामा फेला पारी यातायात कार्यालयले प्रहरीलाई खबर गराउनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनामा संलग्न रहेकाहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ ।