झापा / झापाको भद्रपुर-८ स्थित महेन्द्र पार्क चन्द्रगढीमा पूर्व राजा महेन्द्र शाहको अर्धकदको सालिक अनुमति विना पुनर्स्थापना गर्न रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वदलीय बैठकले पूर्व राजा महेन्द्रको सालिक पुनर्स्थापना गर्न नदिने निर्णय गरेको हो । 

OM Sai Pathibhara Hospital

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको उपस्थितिमा भएको सर्वदलीय बैठकले भद्रपुर नगर क्षेत्रमा रहेका सार्वजनिक स्थल तथा पार्कहरूको संरक्षण र सौन्दर्यीकरण गर्दै उपयोग सम्बन्धमा भद्रपुर नगरपालिकाले नगर सभाबाट निर्णय गरेर कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै , नगरपालिकाबाट स्वीकृति नलिई सार्वजनिक स्थल र पार्कहरूमा अनधिकृत रुपमा संरचना निर्माण, रंगरोकन ,सालिक निर्माण , अतिक्रमण जस्ता कार्य हुन नदिने सम्बन्धमा नगरपालिकालाई आवश्यक परेमा स्थानीय प्रशासनसँग समन्वय गर्ने निर्णय गरेको हो ।

स्वतन्त्र युवा समूहले महेन्द्र पार्कलाई रङ्गरोगन गरी सालिक भत्काइएको ठाउँमा महेन्द्रको अर्को सालिक पुनर्स्थापना गर्न खोजेको थियो । 

भद्रपुरका जनप्रतिनिधिहरूलाई समेत जानकारी नदिई सालिक राख्न खोज्दा सर्वदलीय बैठकमार्फत निर्णय गरी रोक्नु परेको उपप्रमुख राधा कार्कीले बताएकी छिन् ।