एजेन्सी / उडान र अवतरणको तालिम नलिएका व्यक्तिलाई यात्रीले भरिएको विमान अवतरणको अनुमति दिएको एक विमान कम्पनीले भारी रकम जरिवाना तिर्नुपरेको छ ।
नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले सुरक्षा नियम उल्लङ्घन गरेकामा निजी वायुसेवा कम्पनी एयर विस्तारालाई १० लाख भारतीय रुपैयाँ (भारु) जरिवाना गरेको हो ।
एयर विस्तारालाई नागरिक उड्डयनको निगरानीमा राखिएको डीजीसीएका अधिकारीले बताएका छन् । उडान र अवतरणको तालिम नलिएका एकजना सहचालकले हालै मध्यप्रदेश राज्यको इन्दौर विमानस्थलमा विमान अवतरण गराएका थिए ।
यात्रीका जीवनलाई जोखिममा पार्ने गम्भीर उल्लङ्घन विमान कम्पनीले गरेकामा उक्त रकम जरिवाना गरिएको नियामक निकायका अधिकारीले बताएका छन् ।