झापा / शुक्रबारदेखि एक साताका लागि तारा एयरको पोखरा - जोमसोम - पोखरा बन्द हुने भएको छ । कम्पनीले बिहीबार सूचना निकालेर उडान स्थगित हुने जानकारी दिएको हो ।
गत साता पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर जहाज मुस्ताङमा दुर्घटना हुँदा २२ जनाको ज्यान गुमेको थियो ।
जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान गर्न नसक्ने बताएपछि बिहीबार हुने तारा एयरका सबै उडान रद्द गरिएको थियो ।
मौसम विभागले बिहीबार सूचना जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले भने जस्तो आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न नसक्ने बताएको छ । यसका लागि प्रविधि र जनशक्तिको अभाव रहेको विभागको स्पष्टीकरण छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले हवाई मौसम सेवा अन्तर्गत अन्तर्राष्ट्रिय हवाई उडानका लागि आवश्यक मौसमी सूचना तथा इनरूट पूर्वानुमान दिँदै आएको छ । तर, आन्तरिक हवाई उडानका लागि काठमाडौं विमानस्थलको मौसम अवलोकन सूचना मात्र दिँदै आएको विभागले सूचनामा उल्लेख गरेको छ ।