झापा / हतियार किनबेचमा सशस्त्र  प्रहरीको घुमुवा नै संलग्न रहेको खुलेको छ । बर्दिबासस्थित सशस्त्र प्रहरीको वाहिनीबाट बारामा खटिएका चार प्रहरी अवैध हतियार किनबेचमा संलग्न भएको खुलेको हो ।

गत वैशाख २४ बाराको सीमावर्ती सिम्रौनगढ नगरपालिका–९, बसबरियाबाट दुई पेस्तोल, त्यसमा प्रयोग हुने चार गोलीसहित दुई भारतीय युवक पक्राउ परेका थिए । त्यसमा वाहिनीबाट खटिएका वरिष्ठ हवल्दार अशोक साह, सहायक हवल्दारद्वय आत्माराम पटेल, रत्नसागर झा र जवान सुनीलकुमार यादव पनि संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

OM Sai Pathibhara Hospital

उनीहरू सबै घरपायक सिभिल ड्युटीमा थिए । अशोक र सुनील सिम्रोनगढकै छेउमा पर्ने बाराको पचरौताका हुन् भने आत्माराम र रत्नसागर रौतहटका हुन् । घटनापछि उनीहरू बर्दिबास वाहिनीमा तानिएका हुन् ।

हतियारसहित पक्राउ परेकाहरूमा भारत घोडासहनत थानाअन्तर्गत लौखान –पञ्चायत १ का अखिलेशकुमार सिंह र भेलवा पञ्चायत १४ का पप्पु यादव छन् । उनीहरूको वयानका आधारमा जेठ ५ मा लौखानकै लालबाबु भनिने मधुवेन्द्र कुसवाहा पक्राउ परेपछि हतियार किनबेचमा सशस्त्र प्रहरीको संलग्नता खुलेको अपराध अनुसन्धानका एक प्रहरी अधिकारीले बताएका छन् ।