बिर्तामोड / प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले गैरआवासीय नेपालीहरूको बौद्धिक र भौतिक सम्पत्तिको समुचित प्रयोग गर्न सके नेपालको विकासमा टेवा पुग्न सक्ने बताएका छन् । मन्त्री कार्कीले राज्यले यसको उपयुक्त वातावरण बनाउनु पर्नेमा जोड दिए ।
बेलायतको स्कटल्याण्डस्थित इडनबर्गमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीले गैर आवासीय नेपालीहरुसँग भएको बौद्धिक क्षमता र भौतिक सम्पत्तिको समुचित प्रयोग गर्न सके विकासमा टेवा पुग्नसक्ने बताए । “भूकम्प जाँदा अथवा बाढीबाट पीडित भएकाहरूको लागि मात्र होइन गैर आवासीय नेपालीहरूले विकासका धेरै क्षेत्रमा लगानी गर्न सक्छन्,” मन्त्री कार्कीले भने,“विदेशमा भएका नेपालीहरू फुटेर होइन जुटेर आए संघीय र प्रदेश सरकारले लगानीको उचित वातावरण बनाउँछ । त्यसको सुरक्षाको ग्यारेन्टी पनि सरकारले नै लिन्छ ।”गैर आवासीय नेपालीहरूको छाता संगठन (एनआएनए) ले आयोजना गरेको कार्यक्रममा कार्कीले गैरआवसीय नेपालीहरुको लगानी सुरक्षणका लागि विभिन्न योजनाहरू बनाउने बताए । गैर आवासीय नेपालीहरूबाट सन्ततीको नागरिकता निरन्तरताको लागि माग उठ्ने गरेको र यो विषयलाई आफूले नेपाल सरकार समक्ष माग पुर्याइने बताए ।
एनआरएनए स्कटल्याण्डका सभापति काशिराम भण्डारीले गैर आवासीय नेपालीहरू लगानी गर्न तयार रहेको तर झन्झटिलो प्रक्रियाका कारण समस्या हुने गरेको बताउँदै भने,“सहज व्यवस्था गर्नसके विदेशमा रहेका नेपाली आफ्नै ठाउँमा गएर काम गर्न चाहन्छन् ।