बिर्तामोड / मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका- ५ निवासी २१ वर्षीय चन्द्रकुमार योङवा र सोही ठाउँका २० वर्षीय सुरेन्द्र भन्ने जीवन कुरुवाङ रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिएका छन् । झापाबाट चोरी भएका मोटरसाइकल पहाडी जिल्ला लगेर बेच्ने गरेको खुलासा भएको छ ।
जेठ १३ गते दमक नगरपालिका– ६ स्थित नेपालीरिका होटेल अगाडि पार्किङ गरी राखिएको सुमन खड्काको मे ११ प ५५१२ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको थियो। सोही मोटरसाइकल योङवा र कुरुवाङले पाँचथरमा लगेर चलाइरहेको अवस्थामा प्रहरीले भेटाएपछि उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको डिएसपी पाठकले बताए ।
जेठ ९ गते दमक ६ स्थित गायत्री बोर्डिङ स्कुल अगाडि पार्किङ गरी राखिएको दमकका सविन राईको प्र १–०१–०१५ प ८६९० नम्बरको पल्सर मोटरसाइकल, जेठ ६ गते दमक९ ६ स्थित नेपालीरिका होटेल अगाडि पार्किङ गरी राखिएको इलाम चुलाचुलीका भीमा अधिकारीको प्र १–०१– १४ प १२४० नम्बरको पल्सर मोटरसाइकल र जेठ २ गते दमक९ ६ स्थित नमुना मार्केटमा पार्किङ गरी राखिएको दमकका खेमराज गुरागाईंको मे ८ प ९२९७ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको थियो ।
उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा चोरी भएका तीन वटा मोटरसाइकल पनि पाँचथरमै फेला परेको हो । यता मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।