काठमाडौं / आइतबार मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा परेसँगै विमान उडान सम्बन्धी प्रचलित कानुन र नियममा कडाइ गरिएको छ ।

विमान दुर्घटना भएपछि विमान दुर्घटना सम्बन्धी कानुनमा सरकारको ध्यानाकर्षण भएको हो । 

OM Sai Pathibhara Hospital

मौसम सफा नभएको अवस्थामा आन्तरिक उडान गर्न नपाउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने निर्णय गरेको हो । 

प्राधिकरणले तारा एयरको विमान दुर्घटना भएसँगै अबदेखि उड्ने र पुग्ने स्थानको मौसम सफा हुनुपर्ने जनाएको छ ।

दुवै ठाउँको मौसम सफा नभएको खण्डमा उडान अनुमति नदिइने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक देवचन्द्र लाल कर्णले जानकारी दिएका छन् । 

अबदेखि भने इनरुट अर्थात विमान उड्ने स्थान, विमान पुग्ने स्थान र उडानको बाटोको समेत मौसम सफा हुनुपर्ने निर्णय गरिएको उनको भनाइ छ । यो निर्णयले हवाई दुर्घटना कम गर्न मद्दत मिल्ने प्राधिकरणले जनाएको छ । 

आँखाले हेरेर विमान उडाउने र ल्यान्ड गर्ने विधि भिएफआर (भिजुअल फ्लाइट रुल्स) बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागू हुने भएको छ ।

तर, आईएफआर (इन्स्ट्रुमेण्ट फ्लाइट रुल्स) विधि जडान भएको विमान र विमानस्थलमा भने यो नियम लागू नहुने उनको भनाइ छ ।