काठमाडौं / आइतबार तारा एयरको विमान मुस्ताङको थासाङमा दुर्घटना हुँदा १९ जना यात्रुसहित चालकदलका तीन सदस्यको मृत्यु भएको थियो ।
दुर्घटनामा मृत्यु भएका सबैको शब काठमाडौं ल्याइएको छ भने पोस्टमार्टम प्रक्रियामा रहेको छ ।
सरकारले वरिष्ठ एरोनोटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमनको अध्यक्षतामा क्याप्टेन दिपुराज ज्वारचन , वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र पर्यटन मन्त्रालयका बुद्धिसागर लामिछाने सदस्यसचिव रहने गरी छानबिन समिति बनाएको छ ।
छानबिन समितिका सदस्यसचिव बुद्धिसागर लामिछानेले दुर्घटनाको अवस्था, चालकदलको अवस्था, छावरसँग भएको कुराकानी, मौसमको अवस्था ब्ल्याक बक्समा भएको कुराकानीलाई समेटेर दुर्घटनाको कारण र रोकथामका उपायसहित प्रतिवेदन बुझाउने बताएका छन् ।
सदस्य सचिव लामिछानेका अनुसार समितिले छिटो भन्दा छिटो काम गर्नेछ र करिब तीन महिनामा भित्रै प्रतिवेदन दिने छ ।
आन्तरिक हवाई दुर्घटनामा मृत्यु भएका प्रत्येक मृतकका परिवारले प्रतिमृतक २० हजार अमेरिकी डलर पाउने कानुनी व्यवस्था रहेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देव चन्द्र लाल कर्णले आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउने प्रत्येक नागरिकका परिवारले प्रतिव्यक्ति २० हजार अमेरिकी डलर पाउने बताएका छन् ।
सो रकम कम भएको भन्दै यसलाई संशोधन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छुट्टै कानुन बनाउन लागिरहेको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताएका छन् ।
नेपालमा व्यवसायिक उडान सुरु भएको ५५ वर्षदेखि नै आन्तरिक उडानमा हुने दुर्घटनाको बीमाशुल्क २० हजार अमेरिकी डलरबाट बढ्न सकेको छैन ।
अहिले अन्तर्राष्ट्रिय उडानका लागि प्रति यात्रु १ लाख डलरभन्दा बढीको बीमा हुने गरेको सहसचिव लामिछानेले बताएका छन् ।
सन् २०१८ सम्म नेपालका वायुसेवामा यात्रारत यात्रुको दुर्घटनाका कारण मृत्यु भएमा बार्सा महासन्धि र हेग प्रोटोकलअनुसार २० हजार अमेरिकी डलर मात्रै दिने गरिएको थियो ।
नेपालले मोन्ट्रियल महासन्धिमा हस्ताक्षर गरेसँगै हाल अन्तर्राष्ट्रिय उडानमा जाने यात्रुका लागि करिब १ करोड ३० लाख बराबरको बीमा हुने गरेको छ ।