काठमाडौँ / नेपाल पत्रकार महासङ्घले स्थानीय तह निर्वाचनमा भाग लिएर निर्वाचित भएका ८१ जना पत्रकारको सदस्यता रद्द गरेको छ ।
महासङ्घको उपलब्ध कार्यसमितिको बैठकले निर्वाचनमा भाग लिएर विजयी भएका ८१ पत्रकारलाई महासङ्घको साधारण सदस्यबाट हटाएको हो ।
स्थानीय तहको निर्वाचनमा देशभरबाट करिब २ सय पत्रकारले उम्मेदवारी दिएपनि ८१ जना मात्र निर्वाचित भएका महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिए ।
महासंघले चुनावमा उम्मेदवार बनेका पत्रकारहरू महासङ्घको कुनै तहको कार्यसमितिमा पदाधिकारी वा सदस्य भए त्यस्तो पदबाट स्वतः पदमुक्त गर्नेसमेत निर्णय गरेको छ ।
यो निर्णयअनुसार महासङ्घका दुई केन्द्रीय सदस्यसहित प्रदेश र जिल्ला कार्यसमितिमा रहेका ३० जना पत्रकारको राजीनामा स्वीकृत गरेको छ ।
त्यस्तै, महासंघको साधारण सदस्यमात्रै रहेका तर उम्मेदवारी दिएर पराजित भएका वा फिर्ता भएकाहरूको हकमा भने विधानको व्यवस्था र आचारसंहिता बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने महासङ्घले जनाएको छ ।