काठमाडौँ / मुस्ताङमा दुर्घटनामा परेको तारा एयरको विमान दुर्घटनामा सवार सबै २२ जनाको शव भेटिएको छ। हिजो साँझसम्म २१ जनाको शव भेटिएकोमा आज बिहान बाँकी एक जनाको पनि शव भेटिएको हो । 

OM Sai Pathibhara Hospital

भेटिएका मध्ये २० जनाको शव घटनास्थलबाट निकालिएको छ। जसमध्ये १० जनाको शव हिजै काठमाडौं ल्याइएको थियो । अन्य १० जनाको शव आज बिहान मुस्ताङको कोवाङसम्म ल्याइएको मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले जानकारी दिए । 

दानीका अनुसार अब दुई जनाको शव पनि कोबाङ ल्याएर १२ वटै शव काठमाडौं पठाइने छ । 

दुर्घटनामा मृत्यु भएका यात्रु तथा चालक दलका सदस्यको शव काठमाडौंमा ल्याएर पोस्टमार्टम गरी परिवारलाई बुझाइने तारा एयरले जनाएको छ । 

त्यस्तै दुर्घटनाग्रस्त भएको तारा एयरको हवाईजहाजको ब्ल्याक बक्स भेटिएको छ । दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले आज बिहान हवाईजहाजको ब्ल्याक बक्स भेटाएको हो । 

टोलीका सदस्य विनायकजय मल्लले हवाईजहाजको ब्ल्याक बक्स भेटाएको जानकारी दिए । ब्ल्याक बक्समा पाइलटले गरेका कुराकानीको सबै रेकर्ड रहने भएकाले हवाई जहाज दुर्घटनाको कारण पत्ता लगाउन सहज हुनेभएको छ ।

३ जना चालक दलका सदस्य र १९ जना यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी विमान हराएको १९ घण्टापछि सोमबार बिहान थासाङ गाउँपालिका –२ को सानोसरे भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

को–को थिए विमानमा ?

तारा एयर  प्रालिका अनुसार चालक दलमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को–पाइलट उत्सव पोखरेल र एयरहोस्टेस क्रिस्मी थापा थिए।


१९ यात्रुमा तुल्सादेवी तामाङ, सुकुमाया तामाङ, राममाया तामाङ, मकरबहादुर तामाङ, रोजिना श्रेष्ठ, रश्मी श्रेष्ठ, रविना श्रेष्ठ, गणेशनारायण श्रेष्ठ, राजनकुमार गोले, पुरुषोत्तम गोले, इन्द्रबहादुर गोले, प्रकाश सुनुवार, बसन्त लामा थिए। 

यस्तै, मेइक ग्रिट ग्राफ, वी विल्नर, भाइभावी बान्डेकर, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी र ऋतिका त्रिपाठी थिए।