बिर्तामोड / बिर्तामोड उद्योग वाणिज्य संघको पाँचौँ वार्षिक साधारणसभाको अवसरमा वाणिज्य संघले झापाका दुईजना सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ ।

सोमबार अतिथि सदनमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष तथा कञ्चनजंघा एफएमका केशव भट्टराई र आमसञ्चार डटकमका विनोद पाण्डेलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।

OM Sai Pathibhara Hospital

संघले साधारणसभा मार्फत स्थानीय सरकारको समन्वयमा बिर्तामोड नगर क्षेत्रका विभिन्न स्थानमा सडकबत्ती जडान गर्न र भएका ठाउँमा मर्मत गर्ने, राति पनि प्रस्ट देखिन सकिने सिसी क्यामेरा थप गर्नका लागि आवश्यक समन्वय गर्ने लगायतका भावी योजना अघि सारेको छ ।

संघका अध्यक्ष प्रकाश शिवाकोटीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार सङ्घलाई आर्थिक रुपमा अझ दरिलो बनाउनका लागि संघको भुइँतला तथा पश्चिम र उत्तरको कम्पाउन्डवालको ठाउँमा सटरसहितको कोठा तयार गरी व्यापारिक प्रयोजनका लागि भाडामा लगाउनेछ । बिर्तामोड नगर क्षेत्रका विभिन्न स्थानमा रूखबिरुवा राप्ने तथा भद्रपुर रोड सडकको बीच भागको रोड डिभाइडरमा फुलबगैँचा स्थापना गर्ने प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, प्रत्येक सपिङमल, कम्प्लेक्स, मार्केट तथा अत्यधिक कारोबार हुने स्थानमा सुझाव पेटिका स्थापना गर्ने, बिर्तामोड नगरपालिका र उद्योग वाणिज्य संघको संयुक्त साझेदारी तथा समन्वयमा जनचेतना मुलक कार्यक्रम, उत्पादनमूलक कार्यक्रमहरू सञ्चालन गर्ने संघले योजना बनाएको छ । 

संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य मनकुमार गौतम, सुधीरकुमार शिवाकोटी, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकाललगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत संस्थाका उपाध्यक्ष राजु न्यौपानेले गरेको कार्यक्रमको सञ्चालन महासचिव अर्जुन मैनालीले गरेका थिए ।