काठमाडौँ  / आइतबार भएको तारा एयरको विमान दुर्घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय आयोग गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको हो ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलका अनुसार आयोगका सदस्यमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणि रत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव बुद्धिसागर लामिछाने छन् ।

यो समितिलाई दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिस गर्ने कार्यादेश रहेको लुइँटेलले जानकारी दिए ।

पोखराबाट जोमसोमका लागि आइतबार बिहान ९ : ५५ मा उडेको तारा एयरको ट्वीनअटर जहाज आज बिहान मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । 

उक्त जहाजमा चालक दलका तीन जना सदस्यसहित २२ जना सवार रहेका थिए । उनी सबैको घटना स्थलमै मृत्यु भएको छ । उनीहरुको शव प्रहरीले घटनास्थलबाट संकलन गरेर काठमाडौँ ल्याउने तयारी भइरहेको बताइएको छ । 

उक्त जहाजमा चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा रहेका थिए भने यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ रहेका थिए । 

त्यस्तै प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसा देवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा सवार थिए ।