काठमाडौं / पञ्जाबी गायक शुभदीप संह सिद्धू (सिद्धू मूसेवाला)को हत्या भएको छ ।
गोली लागेको अवस्थामा भेटिएपछि मूसेवालाको अस्पताल लग्ने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
उनको टाउको र कम्मरमुनि गोली लागेको पाइएको छ भने शरीरमा चारदेखि पाँचवटा गोलीका निशाना भेटिएको छ ।
साथीहरूसँग करिब साढे ४ बजे घरबाट निस्किएका उनीमाथि आइतबार साँझ साढे ५ बजेतिर जवाहरकै गाउँ नजिकै हमला भएको हो । सिद्धूको हत्यामा लरेन्स बिश्नोई समूहको हात रहेको भन्दै भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
बुलेट प्रूफ गाडी छोडेर सुरक्षाकर्मी बिना नै घर बाहिर निस्किएका सिद्धू माथि आक्रमण भएको घटनास्थलमा ३० वटा गोलीका खोका भेटिएको र तीन अलग अलग हतियारको भेटिएको छ ।
पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले ट्विटमार्फत मूसेवालाको हत्यामा संलग्न जोकोही उम्कन नपाउने भन्दै सबैमा शान्त रहन अपिल गरेका छन् ।
२८ वर्षीय सिद्धू गत डिसेम्बरमा कांग्रेस पार्टीमा प्रवेश गरी राजनीतिमा सक्रिय रहँदै आएका थिए ।