विराटनगर / मोरङको कटहरी गाउँपालिका –२ आदर्शटोलका ५० वर्षीय तुलसी श्रेष्ठको हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका –१ का ३३ वर्षीय रविन भुजेल, २९ वर्षीय कपिल माझी र कटहरी गाउँपालिका –३ का २८ वर्षीय नितेश चौधरी रहेका छन् ।

OM Sai Pathibhara Hospital

आइतबार बिहान साढे ६ बजे मोरङ कटहरी गाउँपालिका –१ महेशपुर थानगाछी स्थित बित्तु माझीको खेतमा श्रेष्ठ मृत अवस्थामा फेला परेका थिए । 

घटनाको प्रकृति हेर्दा मृतकको शरीरमा चोटपटक देखिएकोले हत्या भएको हुन सक्ने आशंका गरि डग स्नाफिङ समेत गरिएको थियो । घटनालाई सूक्ष्म रूपले अनुसन्धान थालेको मोरङ प्रहरीले घटनामा संलग्नलाई आइतबार नै पक्राउ गरेको हो ।

आपसी वादविवादको क्रममा बाँसको मुग्रो, ढुंगा लगायतका औजारहरूले टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।