काठमाडौँ / मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको जहाजमा सवार २२ जनामध्ये १४ जनाको शव संकलन भएको छ । 

जहाजमा सवार कसैलाई पनि जीवित अवस्थामा भेट्ने सम्भावना नरहेको त्रिभुवन विमानस्थल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले बताए । 

OM Sai Pathibhara Hospital

सिटौलाका अनुसार अन्यको खोजीकार्य भई रहेको, शव भेटिएकामध्ये केहीको चिनिने अवस्था र केहीको भने क्षतविक्षत अवस्थामा शव भेटिएको छ । 

दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने सिभिल एभिएसनका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले जानकारी दिए । 

चालक दलका तीन सहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका –२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । 

आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतविक्षत अवस्थामा आज बिहान गोठाला र स्थानीयवासीको टोलीले भेटाएका हुन् ।

कोवाङबाट हेलिकप्टरबाट गएका नेपाली सेनासहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र शेर्पाको टोली घटनास्थल पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिए ।