झापा / पोखराबाट जोमसोमका लागि आइतबार बिहान उडेको तारा एयरको ट्विनअट्टर जहाजमा चालक दलसहित २२ जना रहेको खुलेको छ । चालक दलका तीनसहित १९ यात्रु गएको विमानस्थलले जनाएको छ । 

चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए भने, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए ।

OM Sai Pathibhara Hospital

यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ ।

उक्त जहाज मुस्ताङको लेतेभन्दा माथिको पहाडमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारी आएको छ । टिटी तालभन्दा पारिपट्टी हिमाली रेन्ज सुरू हुने ठाउँबाट ठूलो आवाज आएको स्थानीयले बताएका छन् ।

म्याग्दीका प्रहरी नायब उपरीक्षक डीएसपी तिलक भारतीले सो क्षेत्रमा ठूलो आवाज आएको जानकारी पाइएको बताए । मुस्ताङबाट दुर्घटनाग्रस्त क्षेत्रमा हेलिकप्टर पठाइएको छ ।

बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको विमान माछापुच्छ्रे र धौलागिरी हिमालको खोँच कटेपछि सम्पर्कविहीन भएको थियो ।