झापा / मोरङको बेलबारी नगरपालिका –१० भाउन्नेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका –११ का २५ वर्षीय राजेश धिमाल र पछाडि सवार २४ वर्षीय अनिल चौधरीको मृत्यु भएको हो ।
को १० प ३५९९ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवम् विराटनगर अस्पताल लगिएको थियो । चौधरीको राति ९ः४० बजेतिर र धिमालको आइतबार (आज) बिहान ६ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३८८७ नम्बरको बस र सडकमा रोकेर राखेको को २ त ८५५९ नम्बरको ट्याक्टर मध्ये कुन सवारी साधनमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो भन्ने यकिन भइसकेको छैन ।
बस र ट्याक्टर तथा दुवै सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।