काठमाडौँ / सरकारले निजामती कर्मचारीको तलब भत्ता बढाउने भएको छ ।
प्रत्येक तीनतीन वर्षमा निजामती कर्मचारीको तलब भत्ता पुनरावलोकन गर्ने व्यवस्थाअनुसार सरकारले फेरि तलब बढाउने तयारी गरेको हो।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अर्थमन्त्री युवराज खतिवडाले तीन वर्षअघि कर्मचारीको तलब बढाएका थिए। गत वर्ष २ हजार रुपैयाँका दरले तलब बढाएकाले अहिले पुनरावलोकन गर्न सरकारलाई दबाब परेको हो।
अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधुकर मरासिनी धेरैथोरै जति सकिन्छ, तलब बढाउनुपर्छ भन्ने पक्षमा छन्।
निजामती कर्मचारीको तलबभत्ता पुनरावलोकन गरी सुझाव दिन गठित समितिले मन्त्रालयलाई सिफारिस दिइसकेको छ। यसलाई आधार मानी तलबभत्ता पुनरावलोकन गर्न अहिले बजेट निर्माणमा संलग्न टोली गृहकार्यमा रहेको ती अधिकारीले जानकारी दिए।
तलब नबढाएर महँगी भत्ता थप गर्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ । अहिले सबै कर्मचारीले एक हजार रुपैयाँ महँगी भत्ता पाइरहेका छन्।
कर्मचारीको तलबभत्ता पुनरावलोकन गर्दा राष्ट्र बैंकले प्रकाशन गर्ने महँगीको दरलाई मुख्य आधार मानिन्छ। यो वर्ष अहिलेसम्म महँगी साढे ७ प्रतिशत पुगेको छ। पछिल्ला दुई वर्षमा भने यो दर ५ प्रतिशत हाराहारीमा थियो।
अहिले सबैभन्दा तल्लो श्रेणी कार्यालय सहयोगीको तलब २१ हजार ४ सय ८० रुपैयाँ छ भने मुख्य सचिवको तलब ६७ हजार १ सय ४० रुपैयाँ छ।
निजामती, शिक्षक, सेना, प्रहरी गरी मुलुकभरमा ६ लाखभन्दा बढी कर्मचारी छन्। यी सबैको तलबभत्तामा वार्षिक २ खर्ब हाराहारीमा रकम लाग्ने गरेको छ।
आगामी वर्ष सरकारलाई प्रदेश र संघीय निर्वाचनका लागि पनि करिब २५ अर्ब रुपैयाँ विनियोजन गर्नुपर्नेछ। कुल बजेटमा चालु खर्चको हिस्सा अहिले नै दुई तिहाई हाराहारीमा पुगेका बेला यस्तो खर्च थपिँदा आगामी वर्ष पुँजीगत बजेटको हिस्सा झनै घट्ने देखिन्छ।