काठमाडौं / पाँच करोड २० लाख ठगी गरेको आरोपमा प्रहरीले ७२ वर्षीय वृद्धसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका –७ बस्ने केशव प्रसाद अधिकारी र भक्तपुर नगरपालिका –८ बस्ने ५८ वर्षीय ईश्वर गाइजु रहेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार भक्तपुर सुडालमा रहेको ४ आना सरकारी जग्गा र अन्य व्यक्तिको निजी जग्गासमेत देखाएर उनीहरूले पाँच करोड २० लाख ठगी गरेको उजुरी परेको थियो ।
सोही उजुरीको आधारमा उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो भक्तपुर नगरपालिका १० स्थित मालपोत गेटबाट पक्राउ गरेको हो ।
त्यस्तै ठगिको आरोपमा खोटाङको बुईपा –३ घर भई हाल दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका १४ बस्ने धनिराम राईको नाममा समेत उजुरी परेको छ ।
उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।