झापा / सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका- ९ मा प्रहरी चौकी तोडफोड गरेको आरोपमा नेकपा माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा २५ वर्षीय गोपाल भन्ने विकल्प वली रहेको प्रहरीले जनाएको छ ।
स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच वैशाख २२ गते झडप भएको र काङ्ग्रेस कार्यकर्ता सुरक्षाको लागि प्रहरी चौकीमा गएपछि माओवादी कार्यकर्ताले नुवाकोट प्रहरी चौकी नै तोडफोड गरेका थिए ।
आरोपित विकल्पलाई प्रहरी चौकी तोडफोड गर्ने मुख्य भूमिका रहेको आरोपमा गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका डीएसपी विष्णु सोतीले जानकारी दिएका छन् ।
तोडफोडबाट प्रहरी चौकी रहेको घरको छाना, सोलार झ्याल ढोकामा क्षति भएको थियो । त्रिवेणी गाउँपालिकाको चुनाव प्रचारप्रसारको समयमा नेकपा माओवादी र नेपाली काङ्ग्रेसका कार्यकर्ता बीच झडप हुँदा प्रहरी चौकी र काङ्ग्रेसबाट त्रिवेणी गाउँपालिकाका अध्यक्षका उम्मेद्वार चढेको गाडी तोडफोड गर्नुका साथै ६ जना काङ्ग्रेस कार्यकर्ता घाइते भएका थिए ।