कैलाली / भारतको विभिन्न स्थानबाट चोरी गरेर ल्याई खेतमा गाडेको अवस्थामा प्रहरीले कैलालीबाट २५ लाख ६८ हजार भारतीय रुपैयाँ र दुई तोला सुन बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेद प्रकाश जोशीका अनुसार जिल्लाको घोडाघोडी नगरपालिका –८ र बर्दगोरिया –४ सुन्दरपुरबाट खेतमा गाडेर लुकाइएको अवस्थाबाट नगद र सुन बरामद गरिएको हो ।
घोडाघोडी नगरपालिका –८ स्थित स्थानीय लालबहादुर थापाको घर नजिकबाट २३ लाख ४६ हजार भारतीय रुपैयाँ र दुई तोला सुन प्लाष्टिकले बेरेर जमिनमा गाडेको अवस्थामा भेटिएको प्रवक्ता जोशीले बताए ।
त्यस्तै सुन्दरपुरस्थित दुर्गा चलाउनेको घर नजिकबाट पनि स्टिलको डिब्बाभित्र राखेर दुई लाख २२ हजार भारतीय रुपैयाँ जमिनमा गाडिएको अवस्थामा फेला परेको कैलाली प्रहरीले जानकारी दिए ।
नगद र सुन बरामदपछि चोरीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।