झापा / वीर अस्पताल र त्रिवि शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्जको डाक्टर भन्दै ठगी गर्ने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ठगी कार्यमा संलग्न रहेको आरोपमा अछाम मङ्गलसेन नगरपालिका- २ बस्ने चक्र बहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आफूलाई डाक्टर बताउँदै छात्रवृत्तिमा अध्ययन गर्न पाउने कोटामा भर्ना गरिदिन्छु भनी ठगी गरेको अभियोगमा उनलाई बुधबार अछाम प्रहरीले पक्राउ गरेको हो ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा विदेशी नागरिकले ५० प्रतिशत छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्न पाउने कोटामा भर्ना गरिदिन्छु भनी बिकले ठगी गरेको प्रहरीले जनाएको छ ।
उनले आफूलाई वीर र टिचिङ अस्पतालको एमबीबीएस र एमएस कन्सल्टेन्ट न्युरोसर्जन डाक्टर दीपक बीसी हुँ भनी चिनाउने गरेका थिए । छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्न पाउने कोटामा ३० लाख रुपैयाँ लिई भर्ना गरिदिन्छु भनी विश्वासमा पारी पीडितबाट पटक पटक गरी नगद १७ लाख रुपैयाँ लिई ठगी गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।